२०८१ चैत्र ११ गते सोमवार

घोराहीमा मातृशिशु स्वास्थ्य सुधारमा उपप्रमुख खुत्रुके बचत कार्यक्रम



२६ पुस,घोराही।
घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधी बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी गर्न लागेको छ । उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधी बनाई आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न लागेको हो ।

गर्भवती भए देखी नै आबस्यक स्वास्थ्य जाँच, पोषण, खोप लगाएतका आधाभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कार्यविधी बनाउन लागेको हो ।

उक्त उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधीको मस्यौदामा आज स्वास्थ्यकर्मी र वडा सचिबहरु विच छलफल भएको छ । गर्भ रहे देखी बच्चा जन्मदा सम्म चार पटक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने, बच्चा जन्मेपछि ३५ दिन भित्र अनिवार्य जन्मदर्ता गराउनु पर्ने, खानपानमा सन्तुलन मिलेको हुनुपर्ने छ ।

कार्य विधीले तोकिएका सबै मापदण्डको पालना भएपछि जन्मीएको बच्चा र आमाका लागि घोराही उपमहानगरपालिकाले खुत्रुकेमा एक हजार रुपैयाँ राखेर दिने भएको हो ।गतबर्षका सुरुभएको उपप्रमुख खुत्रुके अभियानलाई यस बर्ष देखी कार्यविधी नै बनाई आमा र बच्चाको स्वास्थ्य सुरक्षामा विषेश ध्यान दिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ ।

उक्त कार्यविधीमा सामाजिक संस्कार अनुसार न्वारान, भात खुवाई, चाडपर्वमा शिशु तथा आमालाई दिईने दक्षिणाबाट आउने रकमलाई फजुल खर्च नगरी उक्त खुत्रुकेमा जम्मा गर्ने र अप्ठेरो पर्दा बच्चा र आमाको उपचार तथा पोषणका लागि खर्च गर्ने उल्लेख छ । यस आर्थिक बर्षमा उपमहानगरले उपप्रमुख खुत्रुके बचत कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले मातृशिशु स्वास्थ्यलाई सबल र सक्षम बनाउन यो कार्यक्रम ल्याईएको बताउनुभयो । बालमैत्री नगर बनाउने, मातृशिशु मृत्युदरलाई घटाउने, पैसा बचतको बानी विकास गर्ने र पोषिलो खानेकुरा प्रति ध्यान जगाउन समेत कार्यविधी बनाईएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्