२६ पुस, विराटनगर । झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।
उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए । विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी उत्रिएनन् । बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।उनका अनुसार युवक मिर्गौला रोगी हुन् । उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।बसको सिटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा पनि सोही बसमा आउजाउ गर्दै आएका थिए ।बसभित्रै मृत भेटिएका युवकको साथमा रहेको मोबाइलबाट प्रहरीले आफन्तलाई खबर गरेको थियो ।