२०८२ बैशाख ९ गते सोमवार

बुटवलमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन शुरु



२६ पुस,बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन थालिएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले आइतबार विहानवाट अतिक्रमण गरी निर्माण गरिएका घर टहरा लगायतका संरचना भत्काउन शुरु गरेको हो ।

सर्वोच्च अदालतले सडक विस्तार गर्न बाटो खोलिदिएसँगै काम अघि बढाइएको आयोजनाले जनाएको छ । भत्काउनुअघि सडक अतिक्रमण गरी बनाइएका संरचना तथा घरटहरा खाली गर्न घरधनीलाई लिखित, माइकिङ तथा विद्युतीय माध्यमबाट सूचना दिइएको कार्यालयले जनाएको छ ।

अतिक्रमण गरी बनाइएका संरचना नहटाए कार्यालय आफैले हटाएर घरधनीसँग खर्च असुल उपर गरिने चेतावनी सडक आयोजनाले दिएको छ । राजमार्ग चौराहादेखि चिडियाखोला खण्डको साढे तीन किलोमिटर सडक घरधनीको अवरोधकै कारण लामो समयदेखि विस्तार हुन सकेको थिएन ।

आयोजनाले सडकको मध्य भागबाट दायाँ–बायाँ पच्चिस पच्चिस मिटर क्षेत्रभित्र बनेका संरचना खाली गराउन लागेको हो । उक्त सडकखण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सीमा मिचेको तथ्यांक छ । तिमध्ये २ सय जनाले यसअघि नै सडकको भाग खाली गरिसकेका छन् ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्