२०८२ बैशाख ११ गते बुधवार

अब जिल्ला हुलाकबाटै सञ्चार माध्यम र प्रेस परिचयपत्रको नवीकरण



२४ मंसिर । सञ्चार माध्यम तथा प्रेस प्रतिनिधिको प्रमाणपत्रको नवीकरण अब जिल्ला हुलाक कार्यालयबाटै गराउन सकिने भएको छ । मंसिर २४ को मन्त्री परिषद्को निर्णयले सञ्चार माध्यम तथा प्रेस प्रतिनिधिको प्रमाणपत्र नवीकरण गर्ने अधिकार ७७ जिल्लाका हुलाक कार्यालयलाई प्रत्यायोजन गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सो अधिकार देशभरका ७७ वटै जिल्ला हुलाक कार्यालय, सम्बन्धित विभाग तथा निर्देशनालयलाई दिइने बताए ।यससँगै अब सञ्चार माध्यम तथा पत्रकारले प्रमाणपत्र नवीकरणका लागि निवेदन तथा कागजातहरु जिल्ला हुलाक कार्यालयमै पेश गर्नुपर्नेछ ।

नवीकरणको लागि राजधानी आउनु पर्ने बाध्यता, झन्झटिलो प्रक्रिया, बिचौलियाको खेल र आर्थिक भारको अन्त्य गर्न मन्त्रिपरिषदबाट उक्त निर्णय गराइएको मन्त्री गुरुङले जानकारी दिए । तर मन्त्रिपरिषदको निर्णयमा नयाँ परिचयपत्रको बारेमा भने कुनै व्यवस्था उल्लेख छैन । निकट भविष्यमा हुने निर्णयहरुमा त्यसलाई समावेश गर्ने मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्