२३ असोज,काठमाडौं – वडादशैं अन्तर्गत आज तेस्रो दिन नव दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आरधना गरी मनाईदैछ । चन्द्रघण्टा माता दुर्गाको तेस्रो शक्तिको नाम हो ।
चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसै कारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गर्ने गरिन्छ ।
उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद देवी भागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी पूजा गर्ने प्रचलन छ ।
गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ ।
यस्तै आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।।