२५ असार,दाङ – तुलसीपुरको बजार क्षेत्रबाटै मोटरसाइकल हराउने गरेका छन् । दिनदहाडै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा दर्ता हुने क्रम बढ्दो रहेको छ ।
ईलाका प्रहरी कार्यलय तुलसीपुरका अनुसार चालु वर्षको ११ महिनामा मोटरसाइकल चोरीका ३२ वटा उजुरी दर्ता भएको छ । ११ महिनाको अवधिमा ३१ वटा मोटरसाइकल र एउटा स्कुटी गरी ३२ वटा चोरीको उजुरी दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
धेरैजसो मोटरसाईकल घर तथा पसल अगाडी पार्किङ गरेर राखेको समयमा हराएको पाइएको प्रहरी निरिक्षक थापाले बताउनुभयो । उहाँका अनुसार बाटो बाट पनि मोटरसाईकल चोरी भएको उजुरी प्रहरीमा दर्ता भएको छ ।
एक करोड ८ लाख ५० हजार बढी मूल्य बराबरको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । हालसम्म प्रहरीले चोरीमा संम्लग्न रहेका १० जनालाई मात्रै पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता थापाका अनुसार हराएको मध्ये अहिलेसम्म पाँच वटा मोटरसाईकल र एउटा स्कुटर गरी ६ वटा मात्रै भेटिएको छ भने अन्यको खोजि भइरहेको छ ।।