२०८१ साउन ५ गते शनिवार

दाङका ३५ वटा वडा बाढीको उच्च जोखिममा



२५ असार,घोराही- दाङका १ सय वडा मध्ये ३५ वटा वडा बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने सिमलखुट्टी बस्तीमा तुई खोलाको बाढी पस्ने भएकाले स्थानीयवासी त्रसित बनेका छन् ।

सिमलखुट्टीमा ८ वर्ष अघि तुई खोलाबाट आएको बाढीले विद्यालयसहित पाँच घर बगाएको थियो । यो घटनापछि प्रत्यक वर्षको वर्षायाममा यहाँका बासिन्दा त्रसित बन्ने गरेका छन् । सिमलखुट्टीमा रहेका ५५ घर मध्ये अधिकांश घर बाढीको जोखिममा छन् ।

यसका साथै साझखुट्टी, रनियापुर, आमखोलीलगायतका बस्ती पनि तुई खोलाबाट आउने बाढीको जोखिममा छन् । तर बर्सेनि पिरोल्ने तुई खोलामा तटबन्ध गरिएको छैन । दाङ उपत्यकामा बबई नदी र खहरे खोला अनि देउखुरी उपत्यकामा राप्ती नदीको जोखिम छ ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बाढीबाट हुने क्षति न्यूनीकरण गर्न योजना बनाइरहेको बताउनुभयो ।

मनसुनजन्य विपद बाढी, पहिरो र चट्याङबाट हुने क्षति कम गर्न पूर्वतयारी प्रतिकार्य योजना बन्ने गरे पनि हरेक वर्ष विपदबाट हुने मानविय एवं भौतिक क्षति कम हुन सकेको छैन ।।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्