२०८१ असार २ गते शनिवार

जेसीबीले फालेको ढुंगा लागेर बालकको मृत्यु



२६ जेठ , गुल्मी

गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी  १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  ‘वडा नम्वर –३, मैदानस्थित रेसुङ्गा होटलका मालिक हरि कार्कीका भानिज (उनी मावली घरमै बस्थे) स्थानीय पृथ्वी माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने गगनको मृत्यु भएको हो’ वडाध्यक्ष शंकरबहादुर रायमाझीले भने, ‘माथिबाट माटोसँगै खसेको ढुंगा लागेर बालकको टाउकोमा लागेपछि उनी त्यही ढलेको जानकारी प्राप्त भएको छ ।’

गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा त्यही उनलाई मृत घोषणा गरिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । वडाध्यक्ष रायमाझीका अनुसार जेसीवीका चालक बोमबहादुर रानाभाट घटनालगत्तै फरार भएका छन् । जेसीबी मालिकलाई भने प्रहरी कार्यालयमा बोलाइएको डिएसपी खरेलले बताए ।

 




प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्