२७ चैत्र,घोराही।
कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको भन्दै सरकारले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।
मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उहाँको भनाइ छ ।
प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताउनुभयो ।
त्यसका लागि भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने उहाँको भनाई छ ।पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।।