
old photo
२५ फागुन, दाङ- लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुङ्ग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको हो ।
यो छलफलबाट आएका सुझावहरुलाई समेटेर गुरुयोजनालाई अन्तिम रुप दिने र प्रदेश सरकार मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले गुरुयोजना आवश्यकतासहितको आधारमा निर्माण गर्न थालिएको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले समानीकरण अनुदान प्राप्त नभएपछि प्रदेश सरकारमाथि दायित्व थपिँदा केही जटिलताहरु देखिन थालेको बताउनुभयो । समस्या समाधानका लागि सरकारले बनाएको योजनाहरुले काम गरिरहेको स्पष्ट पार्नुभयो । टुक्रे योजनाले विकासमा अवरोध पु¥याएको उल्लेख गर्दै उहाँले अब टुक्रे योजना घटाउने प्रतिबद्धता जनाउनुभयो ।
गुरुयोजना निर्माण तथा कार्यान्वयनका लागि सबै पक्षबिच समन्वय आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकार गुरुयोजना कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले गुरुयोजनाको प्रभावकारी कार्यान्वयनले प्रदेशको समृद्धिमा टेवा पुग्ने बताउँदै सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सडक निर्माणको कामलाई नयाँ उचाइमा पु¥याउन गुरुयोजना कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले गुरुयोजनाको आधारमा वार्षिक योजनाहरु छानिने समेत स्पष्ट पार्नुभयो ।
सभामुख तुलाराम घर्तीमगर, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, प्रमुख सचिव बाबुराम अधिकारी लगायतले गुरुयोजना अनुसार कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न जोड दिनुभयो ।
हाल प्रदेशमा करिब तीन हजार चार सय सडक पहिचान भएका छन् । जसमध्ये दुई हजार दुई सय सडकमा यस बर्ष बजेट परेको छ । तर बजेटको आकार सानो हुँदा नतिजा देखाउन मुस्किल पर्ने गरेको छ । अहिले प्राथमिकता निर्धारण गर्दै निर्वाचन क्षेत्रअनुसार पाँच वटा सडक विकास गर्ने नीति लिइएको छ ।
भूगोल, जनसङ्ख्या, पर्यटन, सीमा सडक र कृषि सडकलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले बताउनुभयो ।।