२०८१ असार ३ गते आइतवार

घोराहीमा थप दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना



२५ फागुन,घोराही – जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउन र नागरिक प्रति जनउत्तरदायी भूूमिका निभाउन थप दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ । घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुर शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ ।
वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि सो दलजीतपुरमा चौकीको आज उदघाटन गरिएको हो भने वडा नम्बर ११ मा वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रेग्मीकै प्रमुख आतिथ्यतामा कार्यक्रम गरी अस्थायी चौकीको उद्घाटन गरिएको छ ।

अस्थायी प्रहरी चौकी गाउँमै स्थापना भएपछि स्थानीयबासी हर्षित भएका छन् । गाउँको शान्ति सुरक्षा र अमन चयनमा थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् । स्थानीय बासीको माग बमोजिम वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुुभयो । नागरिकको भौतिक तथा सामाजिक सुरक्षाका लागि प्रहरी सँधै साथमा रहने बताउँदै उहाँले समुदाय प्रहरी साझेदारी अभियानमार्फत समाजलाई समुन्नत बनाउन सकिनेमा जोड दिनुभयो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रंहरी उपरीक्षक सुरेश काफ्लेले ग्रामीण क्षेत्रमा प्रहरी चौकी स्थापना गरिएसँगै समाजमा हुने सबै खाले अराजकता अन्त्य हुने भएपनि यसमा नागरिकको साथ अपरिहार्य रहेको बताउनुुभयो । उहाँले गाउँमा जुवातास, झैझगडा, तस्करी जस्ता आपराधिक घटना हुने गरेको जस्ता गुनासो आएकाले यो काम नागरिककै लागि हो भन्ने धारणा बनाउन आग्रह गर्नुभयो । कानून भन्दा कोही पनि माथि हुन नसक्ने बताउँदै उहाँले प्रहरी नागरिककै पक्षमा रहेपनि गलत काम गर्ने जोकोही भएपनि उन्मुक्ति नपाउने बताउनुुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्