२५ फागुन,घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै पुरानै घरमा फर्कनु पर्ने कानुनी अड्चन आईपर्यो ।
‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैचारिक लडाईँ भने समाप्त भैनसकेको उनि बताउँछन् । नेकपाको फरक समूहमा रहेर ओलीको कडा आलोचना गरेका उनले आँफूहरुको लडाई अब पुरानो घरभित्र हुने बताए । ‘हामीहरुले पहिले जुन मुद्धाहरु उठान गर्दै आएका थियौँ,’उनले भने ‘ति मुद्धाहरु अब पुरानो घरमा बसेर उसैगरि उठान हुन्छन्, हामीहरु हाम्रा मुद्धामा बिचलित छैनौँ ।’ तर नेकपा टुटेर पुरानो एमालेमा फर्कँदा भने राजनीतिक ‘ओज’ मा कमी आउने उनको बुझाई छ । ‘पहिला म दुईवटा राजनीतिक दल मिलेर बनेको ठूलो पार्टीको नेता थिएँ,’ उनले भने ‘अब त्यो ठूलो पार्टी त रहेन, अब म एमालेको मात्रै नेता हुने भएँ, यसर्थ ठूलो पार्टीको नेता हुनु र सानो पार्टीको नेता हुनुमा राजनीतिक ओज त घटिहाल्छ नि ।’
सांसद चौधरीसंगै ओली समूहका आलोचक दाङका अर्का सांसद हुन् दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हिराचन्द्र केसी। एमालेबाट निर्वाचित उनि नेपाल समूहका हुन् । प्रचण्ड माधव समूहसंगै रहेर नेकपाको आधिकारीकता दाबी गरिरहेका सांसद केसीलाई लागेकै थिएन, ओली समूह संग पुनः पुरानै घरमा फर्कनु पर्ला भन्ने ।
तर सर्वोच्चले गरेको ‘राजनीतिक फैसला’ का कारण उनि पुनः ओलीसंगै पुरानै घरमा प्रवेश गर्न बाध्य भए । ‘मलाई यस्तो होला भन्ने लागेकै थिएन,’ उनले भने ‘अदालतको फैसलाविरुद्ध बोल्दा मलाई मानहानी नलागोस्, सर्वोच्चले नै राजनीतिक दल खडा गरिदिनु कदापी न्योचित काम हैन ।’ नेकपाको आधिकारीकताका विषयमा मात्रै अदालतले फैसला गर्नुपर्नेमा माओवादी र एमाले ब्यूँताईदिने फैसलालाई उनले राजनीतिक फैसला भनेर टिप्पणी गरे । तथापी पुरानो घर प्रवेशलाई उनले आँफूहरुको ‘हार’का रुपमा लिएका छैनन् । केपी शर्मा ओली पनि पुरानो घरमै फर्कन लागेको भन्दै उनले भने ‘पुरानो घरमा हामी मात्रै हैन, केपी शर्मा ओली समूह पनि फर्कन लागेको हो,यसर्थ यसमा कसैको हार जीत या आत्मसमर्पण भन्ने कुरानै हैन ।’