२६ माघ, दाङ-तुलसीपुर–९ दोघरेस्थित तत्कालीन राप्ती अञ्चल आयुर्वेद औषधालय अहिले राप्ती आयुर्वेद चिकित्सालयमा परिणत भएको छ। अस्पतालको नाम फेरिए पनि सबै पुरानै संरचना हुँदा सेवा दिन समस्या भएको अस्पतालको भनाइ छ।चिकित्सालयमा मासिक ६–७ सय विरामी उपचारका लागि आउने गरेका चिकित्सालयका प्रशासन प्रमुख चिकित्सक डा. मदन बिसीले बताए।
अस्पतालमा अहिले पनि पञ्चायतकालकै दरबन्दी हुँदा भने जस्तो सेवा दिन नसकेको उनको भनाइ छ। स्वीकृत दरबन्दी कम भएको र कार्यक्रम करारका २२ जना कर्मचारी रहेको उनको भनाइ छ। अहिले यो अस्पतालको मातहतमा जिल्लाका ६ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन भइरहेको र त्यहाँ पनि करारका कर्मचारी रहेको उनले बताए।
अस्पतालमा अहिले पनि एकजना चिकित्सक, एकजना कविराज, एकजना वैद्य, एकजना लेखापाल र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको उनले बताए। उनका अनुसार सबै स्थानीय तहमा आयुर्वेदको सेवा नभएको अवस्थामा तुलसीपुर उपमहानगरमा प्रदेश मातहतका दुईवटा आयुर्वेद अस्पताल हुँदा समस्या भएको छ। उनले भने, ‘५ किलोमिटर दूरीमा बिजौरीमा प्रादेशिक आयुर्वेद चिकित्सालय रहेको छ। यसलाई अस्पताल भनिएको छ, अस्पतालमा अन्तरंग सेवा सहितको विकास गर्नुपर्ने हो तर यो अहिलेसम्म विकास हुन सकेको छैन।’
उनका अनुसार अरू जिल्ला तथा पालिकामा आयुर्वेद अस्पताल नभएको अवस्थामा एकै ठाउँमा प्रदेश मातहतको अस्पताल हुँदा दुबै अस्पतालको विकास भएको छैन। उनले भने, ‘बिजौरीमा प्रादेशिक अस्पताल छ। यदि यो अस्पताल प्रदेशको राजधानी भएको ठाउँमा वा घोराही उपमहानगरमा भएको भए विकास हुन्थ्यो, होला तर आधारभूत आयुर्वेद स्वास्थ्य सेवा सबै ठाउँमा हुनु राम्रो हो। हामी जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, अहिलेसम्म विकास भएको छैन।’ यस्तै चिकित्सालयमा दरबन्दी हुनुपर्ने समेत बताए। आयुर्वेदमा विशेषज्ञ सेवा, मौलिक किसिमका थेरापी, पञ्चकर्म लगायतका सेवा हुने भन्दै उनले अस्पतालको विकास र दरबन्दी भएमा त्यो सेवा दिन आफूहरू तयार रहेको समेत बताए।