२६ माघ,रुकुम –
रुकुम पूर्वमा हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन् । गत माघ १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन् ।
सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन् ।
लोकमार्ग अवरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौं जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन् ।
कतिपय यात्रुले सल्यान, दाङ, बुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन् । यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ । हिउँ जम्दा पुथाउत्तरगंगा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ ।।