२०८१ चैत्र १३ गते बुधवार

घोराहीमा माघ मिलन कार्यक्रम सम्पन्न



२५ पुस,दाङ । घोराही उपमहानगरपालिका वडा नं ७ को आयोजनामा शनिबार माघ मिलन कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको सबैभन्दा ठुलो पर्व माघ नजिकिदै गर्दा सांस्कृतिक विकासका लागि वडाले माघ मिलन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बीनि प्रदेशका प्रदेश सभा सदस्य अमर डाँगीले थारुहरुको माघ पर्वले सांस्कृतिक, सामाजिक पहिचान बोकेको पर्व भएकोले यस पर्वलाई सद्भावको रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले माघमा थारु समुदायले लोकतान्त्रिक पद्धतीबाट महटावाँ, बड्घर, भलमन्सा चुन्ने, वर्षदिन भए गरेका कृयाकलापहरुको समिक्षा गर्ने र आगामी वर्षका लागि नयाँ योजना बनाउने हुदाँ यो पर्व विशेष रहेको धारणा व्यक्त गर्नुभयो । परापुर्वकाल देखि मनाउँदै आईरहेको यस पर्व पछिल्लो अवस्थामा रुपान्तरण हुदै गएपनि राज्यस्तरबाट संरक्षण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

राज्यस्तरबाट महटाँवा प्रथालाई कानुनी रुपमा मान्यता दिदै माघ पर्वलाई राष्ट्रियकरण गर्न लुम्बीनी प्रदेशको तर्फबाट आफु प्रतिबद्ध रहेको उहाँले विचार व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्ने बत्ताहरुले थारुहरुको सांस्कृतिक पहिचानका लागि राज्यले विशेष योजनाहरु ल्याउनुपर्नेमा जोड दिएका थिए । सामाजिक, सांस्कृतिक रुपान्तरण संगैं पछिल्लो अवस्थामा थारु समुदायको पर्वलाई विकास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

यस अवसरमा विभिन्न गाउँ टोलबाट उपस्थित भएका थारु महिलाहरुले थारु भेषभुषा सहति मघौटा नाच प्रस्तुत गरेका थिए । घोराही उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष खोपिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सुशिला चौधरी, कल्बीर चौधरी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । वडा सदस्य दिपक चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण हरीप्रसाद घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्