२०८२ बैशाख १२ गते बिहिवार

सल्यानमा सुन्तलाका बोट सुक्न थालेपछि चिन्ता



२५ पुस,घोराही ।
सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् ।अहिले सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका ८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुकेका छन् ।

आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै संकटमा पर्न थालेको छ । १५ वर्ष देखि सुन्तला खेती गर्दै आउनुभएकी पवित्रा योगीले फल नलाग्ने र हाँगा सुक्ने समस्या देखिएको बताउनुभयो ।

पोहोरसाल १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको तर यो वर्ष तीन लाख रुपैयाँ पनि नहुने देखिएको उहाँको भनाई छ । सिङ्गो गाउँमा नै व्यावसायिक सुन्तला खेती गर्दै आएका कृषक निराश भएका छन् ।

सुन्तला पकेट क्षेत्रको रुपमा रहेका धेरै स्थानमा ग्रिनिङ रोगको समस्या देखिन थालेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।सुन्तलाको क्यान्सरको रुपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकाले छिट्टै सुन्तलाका बोटमा समस्या देखिने कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिनुभयो ।

सल्यानमा एक हजार ५०० बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६९० मेट्रिक टन सुन्तला निर्यात भएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्