२३ मंसिर,दाङ- घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञकम चहलपहल बढ्दै गएको छ । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा दान गर्ने दाता तथा कथा श्रवण गर्नेदेखि भक्तजनको सहभागीता बढ्दै गएको हो । महायज्ञको तेश्रो दिन आइतवार विहान नियमित पूजासँगै दिउँसो भागवत कथा श्रवणका लागि भक्तजन तथा दाताको सहभागीता अन्य दिनको तुलनामा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले जानकारी दिएका छन् ।
तीन लाख बढी दान संकलन यसैविच विद्यालयको भौतिक सुधारका लागि सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञमा हालसम्म तीन लाख बढी आर्थिक दान संकलन भएको छ । महायज्ञ सञ्चालन भएको तेश्रो दिन आइतवारसम्म तीन लाख २९ हजार पाँच सय दश रुपैयाँ आर्थिक संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक हिरालाल न्यौपानेले जानकारी दिएका छन् । संयोजक न्यौपानेका अनुसार आइतवार महायज्ञमा एक लाख दश हजार तीन सय १३ रुपैयाँ दान संकलन भएको छ । जसमा सवैभन्दा धेरै घोराही उपमहानगरपालिका–१६ बयरबट्टा निवासी केशव पछाईले २२ हजार दुई सय २२ रुपैयाँ दान गरेका थिए ।
संयोजक न्यौपानेका अनुसार महायज्ञमा हालसम्म सवैभन्दा धेरै दान गर्ने घोराही उपमहानगरपालिका–७ सौडियार निवासी बिना रोका रहेकी छिन । उनले एक लाख पाँच सय रुपैयाँ संहयोग गरेकी थिइन । त्यसैगरी महायज्ञमा आइतवार ४२ मुरी धान गरेर हालसम्म ८६ मुरी धान संकलन भएको छ । महायज्ञमा पाँच हजार एक रुपैयाँभन्दा बढी आर्थिक दान गर्ने दाताको नाम शिलालेखमा लेखिने भएको दाता पहिचान उपसमितिका संयोजक भूपबहादुर डाँगीले जानकारी दिएका छन् । महायज्ञमा धान दान गर्नेहरुको संख्या बढ्दै गएको धन धान्याचल उपसमितिका संयोजक चिजबहादुर चौधरीले जानकारी दिएका छन् ।
संयोजक चौधरीका अनुसार हालसम्म १४ वटा विभिन्न टोल बिकास संस्था, मतहवाको समन्वय र सहभागीतामा स्थानीय समुदायले ८६ मुरी धान दान महायज्ञमा दान गरेका छन् । महायज्ञबाट संकलन गरिएको रकमबाट मावि सौडियारकामा करिव पाँच सय जना अट्ने सभाहल निर्माण गर्ने योजना अनुसार महायज्ञ सञ्चालन भइरहेको छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि महायज्ञमा धान दान गर्न नागरिक अत्यन्तै उत्साहित देखिएको अनुगमन समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्काले बताए ।
संयोजक खड्का अनुसार आफ्नो दक्ष अनुसार महायज्ञमा विभिन्न गाउँहरुबाट समुदायमा आउँदै नागरिकले दैनिक रुपमा धानलगायत आर्थिक दान गरिरहेका बताए । मंसिर २१ गतेदेखि सुरु भएको महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहेकी छिन । महायज्ञमा विहान नियमित पुजासँगै दिउँसो ११ बजेदेखि चार बजेसम्म भागवत कथावान, साढे चार बजे आरती र साँझ सात बजेदेखि नौ बजेसम्म कथा बाचनसँगै भजन कृतन हुने गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।