२०८१ चैत्र ११ गते सोमवार

अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी



२३ कार्तिक । अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी भए पनि उहाँ विजयी भइसक्नुभएको छ । जितसँगै जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नुहुनेछ ।

वर्तमान राष्ट्रपति ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै बाइडेनले आफ्नो जित पक्का गर्नुभएको हो । बाइडेनले ह्वाइट हाउससम्म पुग्नका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोट पार गर्नुभएको छ । महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै बाइडेनले २ सय ७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । ट्रम्पले भने २ सय १४ इलेक्टोरल भोट पाउनुभएको छ ।

७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईवटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसक्नुभएको छ ।

बाइडेन तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा चुनिनुभएको हो । अमेरिकाको इतिहासमा बाइडेनले सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति पनि बन्न सफल हुनुभएको छ । सात करोड ४५ लाखभन्दा बढी अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन् ।

बाइडेन बाराक ओबामाका नजिकका मित्र पनि मानिनुहुन्छ । बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने पक्का भएसँगै भारत, फ्रान्सलगायतका देशले बधाइ दिएका छन् । बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्