२२ असोज, काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको विस्तार गरेका छन् । ८८ दिन पश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । पहिलो चरणमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्रीमा बालकृष्ण खाण, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर, अर्थ मन्त्रीको रुपमा जर्नादन शर्मा तथा उर्जा मन्त्रीमा पम्फा भुसालले सपथ लिएका थिए । यस्तै दोस्रो चरणमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्रीको रुपमा नियुक्त गरिएको थियो । तेस्रो चरणमा विस्तार भएको मन्त्रिपरिषदमा डा. नारायण खड्का परराष्ट्र मन्त्री बन्न सफल भएका थिए ।
आज नेपाली कांग्रेसबाट पाँच मन्त्री नियुक भएका छन् । जसमा रक्षामन्त्रीमा मिनेन्द्र रिजाल, कानुन मन्त्रीमा दिलेन्द्रप्रसाद बडु, महिला तथा बालबालिका मन्त्रीमा उमा रेग्मी खानेपानी मन्त्रीमा उमाकान्त चौधरी, उद्योग मन्त्रीमा गजेन्द्र हमाल नियुक्त भएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट आज शिक्षामन्त्रीमा देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीमा शशी श्रेष्ठ तथा युवा तथा खेलकुद मन्त्रीमा महेश्वरजंग गहतराज नियुक्त भएका छन् ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् भने रामकुमारी झांक्री शहरी विकास, किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा पर्यटन मन्त्रीमा प्रेम आले नियुक्त भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठले संघीय मामिला तथा स्थानीय विकास मन्त्री, रेणु यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री, रामसहाय यादव वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिदैछन् । यस्तै महेन्द्र राय यादव कृषि तथा पशुपन्छि विकास मन्त्री नियक्त भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।