२३ भदौ,घोराही – लुम्बिनी प्रदेशमा नेकपा एमाले विभाजनको असर अन्य जिल्लाको तुलनामा दाङमा बढी देखिएको छ । दाङमा एमालेबाट जितेका दुुई संघीय सांसदले अहिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । क्षेत्र नम्बर १ बाट निर्वाचित मेटमणि चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित हिराचन्द्र केसीले नयाँ पार्टी रोजेका हुन् । दाङ लुम्बिनी प्रदेशमा निर्वतमान मुख्यमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलको गृहजिल्ला हो ।
क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका थिए । प्रदेश सभाका ६ क्षेत्रमध्ये ४ क्षेत्र एमालेले जितेको थियो । दुुई क्षेत्रमा माओवादी र कांग्रेसले जितेका थिए । दाङबाट प्रत्यक्ष निर्वाचित दुुई जना प्रदेश सांसदले एमाले त्यागे । क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सांसद अमरबहादुर डाँगी र क्षेत्र नम्बर ३ (ख) बाट उपचुनाव जितेकी विमला वली नेकपा माओवादी केन्द्रमा छन् । एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उनकै श्रीमती विमलाले तत्कालीन नेकपाबाट निर्वाचन जितेकी थिइन् ।
डाँगी एमाले परित्याग गरी सांसद पदबाट राजीनामा दिएपछि अहिले मुख्यमन्त्री कूलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकार रहेका छन् भने उपचुनाव जितेकी वली माओवादीबाट प्रदेशको मन्त्री बन्ने तयारीमा छन् । दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित रेवतीरमण शर्मा घिमिरेले पोखरेललाई साथ दिएका छन् ।
तर, स्थानीय तहमा भने असर अलि कम देखिएको छ । गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी रोजेकी छन् । शान्ति एकीकृत समाजवादीका नेता मेटमणि चौधरीकी दिदी हुन् । दाङका १० स्थानीय तहमध्ये ६ वटामा एमाले विजयी भएका थिए । दाङको स्थानीय तहमा २१ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । तीमध्ये धेरै वडा सदस्य छन् ।
स्थानीय तहमा माधव निकट मानिएका जनप्रतिनिधिले भने पार्टी विभाजनपछि नयाँ पार्टीतर्फ रूचि नदेखाएको दाङका एक एमाले नेताले बताए । लोकान्तरबाट