२०८१ चैत्र १३ गते बुधवार

घोराहीमा फोहर किन्न २० हजार खर्च



२४ असार,घोराही – घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७/०७८ बाट फोहर खरिद सुरु गरेको हो । फोहर खरिद गर्ने कार्यक्रमअन्र्तगत चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरिएको घोराही उपमहानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले बताउनुभयो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ४ लाख बजेट विनियोजन गरेको थियो । बजेट भए पनि सबै रकमको फोहर खरिद गर्न नसकिएको उहाँको भनाई छ । नगरपालिकाले मात्र नभई अन्य कवार्ड व्यवसायीहरुले पनि खरिद गर्ने भएकाले थोरैको मात्र खरिद भएको बताउनुभयो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोत्तलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी ५ रुपैयाँ, सुर्तीजन्य प्लाष्टिकको फोहर प्रतिकेजी २ रुपैयाँ, गत्ता, कापीसहित बर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको छ ।

खरिद गरिएको गल्ने फोहरलाई ल्याण्डफिल साइटमा रहेको बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गर्ने गरेको छ ।

यसैबिच घोराही उपमहानगरपालिकाले आफैले खरिद गर्दै आएको फोहर निजी क्षेत्रलाई दिने तयारी गरेको छ । आउँदो आर्थिक वर्षबाट निजी क्षेत्रलाई दिने तयारी गरिएको घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख अधिकारीले जानकारी दिनुभएको छ ।।

 

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्