२०८१ असार २ गते शनिवार

लुङ्ग्रीमा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणाका लागि अनुगमन



२६ जेठ,रोल्पा- लुङ्ग्री गाउँपालिकाद्वारा गाउँपालिकाको विभिन्न समुदायमा पुर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणाका लागि अनुगमन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ वडाचौरको सेवार, बुजेङ र पुरानो बुजेङ वडा नम्बर ६ गुम्चालका , बेरी, पाटे गुम्चाल, गुम्चाल लगाएतको समुदायमा अनुगमन गरिएको थियो ।

सुत्केरी भएको १ वर्ष भन्दा कम समय भएका ३० घरहरुमा अनुगमन गरिएको थियो । ति घरहरुमा अनुगमन गर्दा सम्पुर्ण घरहरुका सुत्केरीहरुले संस्थागत रुपमै सुत्केरी गराएको पाइएको थियो । बालबालिकाहरुलाई पनि नियमित रुपमा खोप लगाइएको पाइएको बताइएको छ ।

लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, उपाध्यक्ष दिल कुमारी गुरुङ, स्वास्थ्य शाखा संयोजक लेपेन्द्र बुढाथोकी, सह-संयोजक दिपा कुमारी विष्ट, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना सुवेदी, पत्रकार भरत विश्वकर्मा, खुम बहादुर सुनार लगाएतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

लुङ्ग्री गाउँपालिकाको वडा नम्बर ५ र ६ गुम्चालको विभिन्न क्षेत्रमा गरिएको अनुगमनका क्रममा घरमा सुत्केरी गराउनेको संख्या शुन्य रहेको स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले बताउनु भयो ।

“पहिलेजस्तो घरमै सुत्केरी गराउनेमा न्युन भएको छ” उहाँले भन्नुभयो, “अहिले गर्भजाँच र बच्चालाई नियमित रुपमा खोप पनि लगाइरहेका छन् ।” अनुगमन पश्चात तत्काल उक्त वडालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्