२५ चैत,घोराही –
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाल बहुजाति बहुभाषीक, बहुसांस्कृतिक मुलुक भएको बताउनुभएको छ ।नेपाल मगर संघको १२ औँ राष्ट्रिय महाधिवेशनलाई आज दाङको घोराहीमा उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सबै जातजातिको पहिचान संरक्षणमा नेपालको संविधानले सुनिश्चितता गरेको बताउनुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक राष्ट्र रहेको बताउदै सबै जातजाति र भाषाभाषीको सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालमा जैविक, हावापानी, भाषिक विविधता मात्रै नभई सांस्कृतिक रुपमा पनि विविधता भएको हुँदा यो खुला विश्वविद्यालय भएको हुँदा यसलाई कुनै पनि अवस्थामा अलग गर्न नसकिने बताउनुभयोे ।
आवाजः १
उहाँले मगरहरुको पनि थुप्रै विविधता भएको हुँदा जात विशेषभित्र पनि फरक फरक विविधता भएको यो मुलुकमा नेपालको संविधानले सबैको सांस्कृति, भाषिक, जातीय रुपमा अधिकार स्थापित गरेकाले यसको सही कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले घनीभूत पहल गर्नुपर्ने तर्क गर्नुभयो ।
यस्तै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नेपालको हरेक परिवर्तनमा मगर समुदायको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले आपसी सद्भाव र मेलमिलापले राष्ट्र निर्माणमा अघि बढ्न आवश्यक रहेको बताउदै मगर समुदायको हरेक निकायमा उपस्थिति हुनुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिका प्रमुख नरूलाल चौधरीले राज्यको हरेक निकायमा पहुँच पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले लेखपढको भाषामा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्ती मगरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले परिवर्तनमा सबै आदिवासी एकाजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उद्घाटन पूर्व विभिन्न झाँकि सहितको र्यालीले घोराही बजार परिक्रमा गरेको थियो । महाधिवेशनको बन्द सत्र भोलि र पर्सी घोराहीमै हुनेछ । जसले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनका लागि देशभरका ७० जिल्लाबाट मगर समुदायका अगुवाहरु जिल्लामा आएका छन् ।।
प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार