२०८२ बैशाख १३ गते शुक्रवार

लुम्बिनी सरकार सबै पेशाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ: मुख्यमन्त्री आचार्य



२४ फागुन, दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नुभएको छ ।राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पार्नु भएको हो ।

प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीको वृत्तिविकासको ढोका खोलेको उल्लेख गर्नुहुँदै सरकार कुनै पनि पेशाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताउनुभयो ।

उहाँले नेता तथा कार्यकर्ताहरूको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको विषय स्वीकार्य हुन नसक्ने बताउँदै वैचारिक रूपमा स्पष्ट रहन आवश्यक रहेको उल्लेख गर्नुभयो । सानातिना घटनाक्रमले विचलित हुन नहुने बताउँदै विचारमा दृढता आवश्यक रहेको बताउनुभयो ।

स्थानीय सेवा ऐन कार्यान्वयनका लागि नियमावली तयार पार्ने कार्य भइरहेको जानकारी गराउँदै ऐनमा नमिलेका विषयहरू नियमावलीमार्फत समेटिने उल्लेख गर्नुभयो । उहाँले ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल भइरहेको बताउँदै नियमावली भावनाभन्दा बाहिर नजाने, बरु कर्मचारीको मनोबल उच्च बनाउन र व्यावसायिक विकासलाई अघि बढाउन टेवा पुग्ने गरी तयार गरिने बताउनुभयो ।

प्रदेश सरकार स्वास्थ्यकर्मीहरूको हक, हित तथा वृत्तिविकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उद्घाटन कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीका अध्यक्ष चिन्तामणी ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्