२४ फागुन,घोराही ।
घोराहीको कटुवाखोलामा बक्स कल्भर्ट पुल शिलान्यास गरिएको छ । घोराही–लमही सडकको गोरखा टोलदेखि नवलपुर जोड्न पुल निर्माण थालिएको हो । घोराही उपमहानगरपालिकाका प्रमुख तथा घोराही नगर विकासका अध्यक्ष नरुलाल चौधरीले पुलको शिलान्यास गर्नुभएको हो ।
पुल शिलान्यास गर्दै नगर प्रमुख चौधरीले जग्गा एकीकरणमार्फत स्थानीय जनताले आफ्नै लगानीमा विकास गर्नु महत्वपूर्ण रहेको भन्दै अम्बापुर जग्गा विकास आयोजनाले धेरैलाई सकारात्मक सन्देश दिइरहेको बताउनुभयो । उहाँले कटुवाखोलाबाट वस्तीमा हुनसक्ने क्षति रोक्न उपमहानगरपालिकाबाट सहयोग हुने पनि बताउनुभयो ।
घोराही नगर विकास समिति र अम्बापुर जग्गा एकीकरण आयोजना उपभोक्ता समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा बिशिष्ठ अतिथि घोराही १८ का अध्यक्ष भरतमणि अर्याल, गोरखा टोलका अध्यक्ष पदमप्रसाद पाण्डेलगायतले बोल्नुभएको थियो । जग्गा एकीकराण् आयोजना उपभोक्ता समितिका सल्लाहकार सावित्रा राणाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन समिति सचिव पार्वता योगीले गर्नुभएको थियो ।
अम्बापुर जग्गा एकीकरण आयोजनाको बजेटमा कल्भर्ट पुल बन्न थालेको हो । यसअघि आयोजनाबाटै पुल बनाउन दुई वटा पिलर गाडिएको भए पनि सरकारी बजेट पाउने आशामा सो कार्य रोकिएको थियो । गत बर्ष प्रदेश सरकारले डेढ करोड बजेट छुट्याए पनि नजिकै अन्य पुल रहेकाले पुल बनाउन नमिल्दै भन्दै अन्तिम समयमा योजना रद्ध गरिएको थियो ।
पुल बनाउन सरकारी बजेटको आशा गर्दा धेरै समय बित्ने भएपछि जग्गा एकीकरण आयोजनाकै बजेटबाट पुल बन्न थालेको हो । साढे १६ मिटर लम्बाइ र ६ मिटर चौडाइको बक्स क्लभर्ट पुलका लागि जग्गा आयोजनाबाट ७३ लाख ३६ हजार सात सय बजेट विनियोजन गरिएको घोराही नगर विकास समितिका इञ्जिनियर शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।।