२०८१ चैत्र ११ गते सोमवार

टरीगाउँ विमानस्थल विस्तारका लागि पहल गर्ने सभापति देउवाको प्रतिबद्धता



२६ माघ,दाङ- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टहरीगाउँ एयरपोर्टको विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।थारु सांस्कृतिक संरक्षण केन्द्र दाङ चखौरा , मटावा बरघर र भलमनसा सङ्घको आयोजनामा भएको अन्तर प्रदेश स्तरीय थारु सांस्कृतिक महोत्सवको अवसरमा सभापति देउवाले तुलसीपुरको टरीगाउँ एयरपोर्टलाई व्यवस्थित र ठूलो बनाई नियमित हवाई उडान विस्तारमा आफू र आफ्नो पार्टीको तर्फबाट सरकारलाई दबाब दिने बताएका हुन् ।

उनले जिल्लाको समग्र विकासका लागि सबै राजनीतिक नेतृत्वहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।उनले थारु समुदायको शिक्षा, स्वास्थ्य र सीप विकासमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। थारु समुदायका महिलाहरू अझै पनि पछाडि परेकाले उनीहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए।

सभापति देउबाले थारु समुदायको उत्थानका लागि राज्य तहमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने बताए। उनले लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई थारु समुदायका अन्य व्यक्तिहरूलाई पनि उच्च नेतृत्व तहमा पुर्याउने गरी पहल गर्न आग्रह गरे।

साथै, उनले सरकारसँग थारु समुदायको शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्न विशेष कार्यक्रम ल्याउन अनुरोध गरे। धर्म, संस्कृति, संस्कार, र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्न यस्ता सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण हुने भन्दै उनले यसको निरन्तरताको आवश्यकता औंल्याए।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्