१५ माघ,काठमाडौं –
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानविन गर्ने भएको छ । संघीय संसद अन्तरगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानविन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरु खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको बैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिनुभयो।
बैठकमा समितिका सदस्यहरुले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारसँग माग गरे । एमाले नेता एवम् सांसद भिम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउने काममा तीव्रता दिन सरकारलाई सचेत गराउनुभयो । उहाम्ँले दैलेख र दाङमा पेट्रोल उत्खनन् गर्ने भनिएपछि त्यो कामलाई सरकारले अघि नबढाएको भन्दै आपत्ति जनाउनुभयो ।
काँग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घाटामा गएको नेपाल आयल निगमलाई अघि बढाउन त्यसको मूल्यवृद्धि गर्नु बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै त्यसको चुहावट नियन्त्रणलगायतका कामलाई प्रभावकारी बनाउन छुट्टै नीतिगत व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग माग गर्नुभयो। उहाँले त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत कामहरु गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।।