२२ कार्तिक । दैलेखको आठविस नगरपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका –१३ गुमानटारका ३० बर्षीय दिपेन्द्र कुमार घर्ती र विरेन्द्रनगर नगरपालिका –३ एरीचोकका २० बर्षीया आरोशी पुलामी मगरलाई पक्राउ गरिएको हो ।
कर्णाली राजमार्गमा रहेको प्रहरी चौकी पाल्तडाले ती दुईजनालाई पक्राउ गरिएको पाल्तडाका प्रहरी सहायक निरिक्षक थुम बहादुर घर्तीले जानकारी दिए । उनले भने, ‘रामघाट बजारमा सँगै हिडिरहेका थिए । तिनिहरुको गतिविधी हेर्दा शंका लाग्यो खानतलासी गर्दा लागु औषध भेटियो ।
खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो । झोलामा रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०र१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट, स्पासपेन लेखिएको २ पत्तामा १०र१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र २० रुपैयाँको नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन फेला परेको थियो । पक्राउ परेका दुईजनालाई लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान थालिएको दैलेखका प्रहरी नायब उपरिक्षक ञडीएसपीझ अनुपम श्रेष्ठले जानकारी दिए ।