घोराही,२१ असोज। मंगलबार सम्पन्न प्रदेश सभा बैठकले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी घोषणा गरेपछि उक्त निर्णयको दाङमा स्वागत गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाहरुले स्वागत गर्दै दीप प्रज्ज्वलन र नाचगान गरेका छन् ।पाँच नं। प्रदेशको नाम लुम्वीनी र त्यसको स्थायी राजधानी दाङ भएको छ । मंगलवार बसेको प्रदेशसभा बैठकले सरकारले ल्याएको प्रदेशको नामांकन र त्यसको स्थायी राजधानीको प्रस्ताव पारित गरेको छ ।
प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको कुल सदस्य संख्या ८७ मध्ये उपस्थित ८२ सांसदहरुले मतदानमा सहभागिता जनाए । प्रदेशको राजधानी दाङको पक्षमा ६९ र विपक्षमा १३ मत खस्यो । सभाको कुल सदस्य संख्याको दुइ तिहाइ बहुमत प्रस्तावको पक्षमा आएपछि प्रदेशको राजधानी दाङ हुने प्रस्ताव पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।
यसैगरी प्रदेशको नामका लागि ८३ सदस्यहरुले भाग लिएकोमा लुम्वीनी हुनुपर्ने पक्षमा ७९ मत विपक्षमा ४ मत खसेको छ । प्रदेशको राजधानी तोक्न सभाको दुइतिहाई मत हुनुपर्ने व्यवस्था छ ।
सरकारले ल्याएको पाँच नं.प्रदेशको नाम लुम्वीनी र राजधानी दाङको प्रस्तावमाथि नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरुनीले छुट्टा छुटटै राजधानी बुटवल र वुटवल आसपासका क्षेत्रमै कायम गरिनुपर्ने र जनता समाजवादी पार्टीका सहजराम यादवले प्रदेशको नाम थरुहट, अवध, मगरात राख्न संशोधन सभामा पेश गर्नुभएको थियो ।