२०८२ बैशाख १८ गते बुधवार

घोराहीमा साढे तीन सय बढी युवाहरू माओवादीमा प्रवेश



२४ वैशाख,घोराही –   दाङको घोराही उपमहानगरपालिकामा तीन सय ६५ जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी र समाजसेवी युवा गिररोदन महाराको विशेष पहलमा युवाहरु माओवादीमा प्रवेश गरेका हुन् ।

पार्टीमा विगतमा काम गरेका तर, पछिल्लो समय स्वतन्त्र भूमिका निर्वाह गरिरहनुभएका समाजसेवी डा.गिर रोदन महरा सहितका युवाहरु पार्टी प्रवेश गरेका हुन् । दाङका चर्चित कलाकार हिमालयन रोडिजका उत्कृष्ट टप फाइभमा पर्न सफल युवा रामचन्द्र केसी पनि माओवादीमा प्रवेश गर्नुभएको छ ।

पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले माला र अबिर लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका महराले राजनीतिमा युवाहरुको प्रवेश निकै सकारात्मक भएको बताउनुभयो । उहाँले माओवादीले नै युवाहरुलाई पार्टीमा स्थान दिने गरेको बताउनुभयो । महराले युवाहरुले नै राजनीतिलाई सुधार गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री रेखा शर्माले मुलुकको परिवर्तनका लागि माओवादीहरुको योगदान निकै महत्वपूर्ण भएकाले अबको समृद्धिका नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो ।

बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य विमलले विगतमा सामाजिक काममा निरन्तर लागिरहेका युवाहरुको समूह नै माओवादीमा प्रवेश गर्नु निकै राम्रो भएको बताउनुभयो । कार्यक्रममा गठबन्धनको तर्फबाट मेयर पदका साझा उम्मेदवार हेमराज शर्मा डायमण्डले गठबन्धनले विजयी हासिल गरेपछि युवा तथा खेलकुदको क्षेत्रमा बृहत् योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपमेयर पदका साझा उम्मेदवार भूपबहादुर डाँगीले गठबन्धन दलका सबै कार्यकर्ता तथा आम जनताले गठबन्धनको मर्म अनुसार मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा १४ नं वडा अध्यक्ष पदका उम्मेदवार दिलकुमारी बुढा, १५ नं वडा अध्यक्ष पदका उम्मेदवार रमेश पाण्डे र १७ नं वडा अध्यक्ष पदका उम्मेदवार पदम खत्री, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी, केन्द्रीय सदस्य जंग रोका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

माओवादी घोराही नगर उपाध्यक्ष खिमबहादुर चौधरी अटलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भागिदास चौधरी साकारले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्