२०८० फाल्गुन १२ गते शनिवार

दाङमा टाइफाइड विरुद्ध खोप अभियानको शुभारम्भ, २ लाख बढिलाई खोप लगाईदै




२४ चैत,घोराही-
दाङको घोराहीमा टाइफाइड रोग विरुद्धको खोप अभियानको आज शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले अभियानको शुभारम्भ गर्नुभएको हो । घोराही १५ मा रहेको दिपशिखा आबासिय माविमा स्वास्थ्य कार्यालय दाङको आयोजना र घोराही उपमहानगरपालिकाको समन्वयमा भएको खोप शुभारम्भ कार्यक्रममा विद्यालयका पाँच जना विद्यार्थीहरुलाई खोप लगाएर मन्त्री थारुले शुभारम्भ गर्नुभएको छ ।

त्यसअबसरमा उहाँले स्वास्थ्यको सुधारका लागि खोप, औषधी र अस्पतालहरुको प्रयाप्तताले मात्रै नहुने भन्दै व्यक्तिले आनिबानी, खानपान, शारिरीक अभ्यास, सरसफाईमा सुधार गरेमात्रै लक्ष्य हासिल र स्वस्थ्य जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो ।

कुनै पनि रोग लाग्नुभन्दा लाग्नै नदिने गरी स्वास्थ्य हेरचाहलाई ध्यान दिनुपर्ने उहाँको भनाई छ । मन्त्री थारुले रोगबाट बच्नका लागि अपनाउन सकिने साबधानी र उपायको पालना गर्नुपर्ने बताउनुभएको हो । साथै उहाँले रोग बिरुद्ध सञ्चालन गरिने खोप तथा औषधी सेवनलाई प्रभावकारी बनाउनुपर्ने सरकार र स्वास्थ्यकर्मीहरु बढि जिम्मेवार हुनुपर्नेमा समेत जोड दिनुभयो । साथै खोप अभियानलाई सफलतामा पु¥याउनको लागि कोहि पनि बालवालिका छुट्न नहुँने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले रोग लाग्नु भन्दा लाग्नै नदिने गरी सचेतना जगाउने र खोप, औषधी सेवनका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । यसैगरी नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफुहरु सकृय भएर लागेको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले टाइफाइड रोगको संक्रमण दर अन्य रोगको तुलनामा १० गुणा बढी हुने भन्दै १५ महिना देखी १५ बर्ष मुनीका सबै बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत दिवाकर महर्जन, शान्तिसुधा माविका अध्यक्ष नारायण अधिकारीले समेत खोप कार्यक्रमलाई प्रभावकारी बनाउदै स्वस्थ नागरिक तयार पार्ने अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालयका खोप कार्यक्रमका प्रमुख किशोर आचार्यले गर्नुभएको थियो । दाङमा २ लाख २ हजार एक सय ३४ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्