२०८१ फाल्गुन ३ गते शनिवार

यौनिकता शिक्षा तथा साइवर क्राइम सम्बन्धी अभिमुखिकरण



२३ फागुन,घोराही –
घोराहीमा किशोर किशोरीहरुका लागि बृहत यौनिकता शिक्षा तथा साइवर क्राइम सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्ला स्थित १७ वटा संघ संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्लाका ११÷१२ कक्षामा अध्यनरत किशोर किशोरीहरु सहभागि भएका थिए । सोमवार घोराहीमा आयोजना भएको अभिमुखिकरण उद्घाटन कार्यक्रममा सहभागिले किशोर किशोरी उमेरलाई सुरक्षित बनाउन कार्यक्रमले भुमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै मानव कल्यान तथा वातावरण केन्द्रकी अध्यक्ष निर्मला शर्माले किशोर किशोरी उमेरका प्रजनन् स्वास्थ्य तथा अंगको बिषयमा जानकारी हुन आवश्यक भएको भनाई राख्नुभयो । उहाँले किशोर किशोरी उमेरमा मानसिक तथा शारिरिक परिवर्तन हुने भएकाले बिषेश ध्यान दिनुपर्ने समेत बताउनुभयो । आफुले आफैलाई म को हो भनेर चिन्न नसक्दा गलत वाटोतिर जान सकिने तर्फ सचेत बनाउनुभयो ।

कार्यक्रममा वोल्दै सिसा नेपालकी अध्यक्ष तथा ८ मार्च कार्यक्रम संयोजक साजिदा सिद्दिकीले कार्यक्रमले किशोर किशोरीहरुलाई सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो । खासगरी महिलेको इन्टरनेटको जमानामा प्रबिधिलाई गलत तरिकाले प्रयोग गर्दा अप्रिय घटना घटेको भन्दै यसवाट जोगिनका लागि साइवर क्राइम सम्बन्धी प्रशिक्षणको व्यवस्थापन गरेको उहाँको भनाई थियो ।

नेपाल परिवार नियोजन संघ दाङकी सचिव माया पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक दीपक शर्मा लगाएतकाले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजकर्तामा नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनाल, शोभाकान्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक दीपक शर्मा रहनुभएको थियो ।

पत्रकार महासंघ दाङकी अध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशिला पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्