२०८१ माघ ५ गते शनिवार

बालबालिकाहरू अनलाइन यौन दुर्व्यवहारको सिकार बन्दै



२४ माघ, काठमाण्डाै-सूचना प्रविधिको विकास र प्रयोग बढ्दै जाँदा बालबालिकाहरू अनलाइन यौन दुर्व्यवहारमा पर्ने क्रम बढ्न थालेको छ । सूचना प्रविधिको फड्कोले मुख्यगरी बालबालिका र युवा अनलाइनमा असुरक्षित बनेको पाइन्छ ।

चाइल्डसेफनेट र युनिसेफको एक अध्ययनअनुसार नेपालमा पाँच जनामा एक जना बालिका र १० जनामा एक जना बालक अनलाइन यौन दुर्व्यवहारमा पर्ने गरेका छन् ।

बालबालिका र युवाले प्रविधिको प्रयोग धेरै गर्ने तर धेरैलाई अनलाइन सुरक्षाबारे ज्ञान नहुँदा उनीहरू अनलाइन दुर्व्यवहार र शोषण, साइबरबुलिङ, फिसिङ जस्ता गम्भीर जोखिममा पर्न सक्छन् । इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुने क्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने देखिएको छ ।

बालबालिकालाई सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाएर गोप्य अङ्ग देखाउन लगाउने, अश्लील भिडियो र फोटो पठाउने, उनीहरूका गतिविधि सार्वजनिक गरिदिने, अभिभावकसँग पैसा असुल गर्ने लगायतका आपराधिक गतिविधि भइरहेका छन् ।

चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशी बालबालिकालाई अनलाइन यौन अपराधबाट बचाउन सबैभन्दा पहिला अभिभावक जिम्मेवार बन्नुपर्ने बताउनुहुन्छ । अभिभावकले बालबालिकालाई फाेन चलाउन दिनेमात्रै हाेइन कसरी चलायाे भने सुरक्षित भइन्छ भन्नेबारे पनि सिकाउनुपर्छ ।

‘सामाजिक सञ्जालमा के पाेस्ट गर्ने, काेसँग कुरा गर्ने, कसलाई साथी बनाउने भन्नेबारेमा पनि अभिभावकले बालबालिकालाई भन्नुपर्छ । बालबालिका आफैँ पनि सचेत बन्नुपर्छ । प्रविधि आफैँमा खराब भन्ने हुँदैन, चलाउने मान्छे नै सतर्क रहनुपर्छ । साथै अनलाइनमा हुने याैन दुर्व्यवहार राेक्न सरकार, प्रहरीकाे पनि भूमिका हुन्छ ।’, अध्यक्ष रघुव‌शीले भन्नुभयाे ।

यसैबीच प्रेस काउन्सिल नेपालले हिजाे काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा विज्ञहरूले सामाजिक सञ्जालमात्र नभई मूलधारका सञ्चारमाध्यमहरू पनि बालबालिको अधिकार र सुरक्षाका मामिलामा गम्भीर हुन नसकेको बताएका छन् ।

सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रसँग सम्बन्धित कानुन बनाउँदा बाल अधिकारको विषयलाई समितिले गम्भीरताका साथ हेर्नुपर्ने बताउनुभयो । संसदमा दर्ता भएका र अहिले समितिमा छलफलका क्रममा रहेका विधेयकमार्फत कानुन निर्माणका क्रममा सूचना प्रविधिका क्षेत्रबाट हुनसक्ने बाल अधिकार र बाल सुरक्षा संवेदनशीलताको विषयलाई महत्त्वका साथ हेरिने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी तथा उपप्राध्यापक डा. कुन्दन अर्यालले बालबालिकाका लागि अनलाइन सुरक्षाबारे सञ्चारमाध्यमसँगै नागरिक समाजको भूमिका पनि महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्