२०८१ फाल्गुन ३ गते शनिवार

जङ्गली जनावरले क्षति पुर्‍याएका सल्यानका ७९ किसानलाई राहत वितरण



२३ पुस, घोराही–सल्यानमा जङ्गली जनावरले क्षति पुर्‍याएका ७९ जना किसानलाई राहत वितरण  गरिएको छ । डिभिजन वन कार्यालय सल्यानले जङ्गली जनावरले बालीनाली क्षति पुर्‍याएको तथा चौपाया मार्दा पीडित भएका ७९ जना किसानलाई क्षतिपूर्ति स्वरूप राहत वितरण गरेको हो ।

जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका , छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाका किसानलाई राहत वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताउनु भयो । उहाँका अनुसार चार पालिकाका ७८ किसानलाई ५ हजारका दरले ३ लाख ९० हजार र बाघले १० बाख्रा मारेका कालीमाटी गाउँपालिका ७ का एक किसानलाई १ लाख गरी ७९ जनालाई ४ लाख ९० हजार राहत वितरण गरिएको हो । सरकारले गत वर्षदेखि जङ्गली जनावरले बालीनाली क्षति पुर्‍याएको र चौपाया मारेको किसानलाई राहत दिने कार्यक्रमअनुसार नै वितरण गरिएको उहाँले बताउनु भयो ।

जिल्लाका १ सय ११ किसानले जङ्गली जनावरले बालीनाली क्षति पुर्‍याएको र चौपाया मारेको भन्दै राहतका लागि निवेदन दिएका थिए । निवेदन दिएका मध्ये ३२ जनाको विवरण केन्द्रमा पठाएको र केही दिनभित्र नै उनीहरूलाई पनि राहत वितरण गरिने कार्यालय प्रमुख रावलले बताउनु भयो । पछिल्लो समयमा जिल्लामा बढ्दै गएको जङ्गली जनावर, बँदेल, बाँदर , रतुवा, घोरल, दुम्सी र निकुञ्ज क्षेत्रमा बढेको बाघका कारण जिल्लावासी प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्