२०८१ फाल्गुन ३ गते शनिवार

माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने



२३ पुस, काठमाडौं– नेकपा माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ। आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियानपछिको ६ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए। बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको पनि उनले बताए।

उनले केन्द्रीय कार्यालयको आर्थिक प्रस्ताव र केही समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिएको बताए। बैठकलाई सम्बोधन गर्दै ६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गरे। अभियानबाट व्यापकरूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने स्पष्ट गरे।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्