२० असोज, काठमाडौं –
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन् । राउतको पक्षमा ७७ र विपक्षमा २३ जनाले मत दिए । बुधबारको प्रदेशसभा बैठकमा सय जना उपस्थित थिए ।
मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेश सांसदले मत दिएका थिए ।
प्रदेश २ मा १ सय ४ जना प्रदेश सांसद छन् । जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा (एस) को १३, नेपाल संघीय समाजवादी पार्टीका १ र १ जना स्वातन्त्र सांसदको सरकारलाई समर्थन छ । लोसपाका १६ जनामध्ये १५ जना, एमालेका ८ जना गरी २३ जना विपक्षमा मत दिएका थिए ।
लोसपाका प्रदेश सांसद डिम्पल झा उपचारका लागि भारतमा छिन् ।