२० असोज,घोराही –
दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दाङसहित प्रदेशका १२ जिल्लामा यात्रु नागरिक सहायता कक्ष स्थापना गरेको छ । १२ जिल्लाका ४५ स्थानमा यात्रु नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।
प्रदेश ट्राफिक प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले सुरक्षा सतर्कता र यात्रु सहजताका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो । दाङका ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । घोराहीमा दुई, तुलसीपुरमा एक , लमहीमा दुई, भालुबाङमा एक गरी ६ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
यसैगरी रोल्पाका तीन, प्युठानका तीन र रुकुमपूर्वका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यस्तै रुपन्देहीमा सात, नलवरासी पश्चिममा चार, कपिलवस्तुमा पाँच, अर्घाखाँचीमा तीन, बाँकेमा दुई, पाल्पामा दुई, गुल्मीमा तीन र बर्दियामा पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी सबै कक्षमा प्रहरीलाई खटाईसकिएको छ ।।