२२ असार,काठमाडौं –
नेपालमा हरेक वर्ष कम्तीमा पाँच जना व्यक्तिले विषालु च्याउका कारण ज्यान गुमाउँछन् । विशेषगरी गाउँघरका वनपाखामा भेटिने च्याउमध्ये खान मिल्ने र नमिल्ने च्याउ छुट्याउन नसक्दा मानिसहरूको मृत्यु हुने गरेको हो ।
च्याउ विज्ञ गोपाल पराजुलीका अनुसार हामीले नांगो आँखाले कुनै पनि च्याउ विषालु हो वा हैन भनेर छुट्ट्याउन सकिँदैन । त्यही कारण मानिसहरूले खान मिल्ने च्याउ भनेर विषालु च्याउ खाने हुँदा ज्यान गुमाएको पराजुली बताउँछन् ।
उनले कहिलेकाहीँ एउटै च्याउ पनि भूगोल अनुसार खान मिल्ने र नमिल्ने हुने जनाए। जस्तै: मुस्ताङमा उम्रेको त्यही च्याउ पोखरामा उम्रिँदा त्यो विषालु हुनसक्ने उल्लेख गर्दै पहिले फलानो ठाउँमा पनि यही च्याउ त खाएको भनेर नयाँ ठाउँमा त्यही च्याउ खाइहाल्न नहुने उनी बताउँछन् ।
यद्यपि च्याउ खानुअघि केही कुराहरूलाई ध्यान दिए विषालु च्याउ खानुबाट जोगिन सकिने पराजुलीको सुझाव छ ।