२०८१ असार २ गते शनिवार

तुलसीपुरमा होटेलहरुको स्तरीकरण गर्न शुरु



२३ जेठ,दाङ – तुलसीपुर उपमहानगरपालिकाभित्र संचालित होटेलहरुको स्तरीकरण गर्न शुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले उपमहानगर क्षेत्रमा रहेका होटेलहरुको सेवा,खाद्य वस्तु,सरसफाइलगायतका सूचाकाङ्कमा राखेर स्तरीकरण सुरु गरेको जनाएको छ । डिभिजन कार्यालयका प्रमुख उज्ज्वल रायमाझीले चार क्षेत्रमा विभाजन गरेर होटेलहरुमा स्टीकर टाँस्न शुरु गरिएको जानकारी दिनुभयो ।उपभोक्ताहरुलाई सफा,स्वस्थ, गुणस्तर युक्त खानाका लागि स्तरीकरण प्रकृया सुरु गरेको कार्यालय प्रमुख रायमाझीले बताउनुभयो । कार्यालयले गत वर्ष पनि खाद्य सुरक्षाका लागि पानी,खाद्यान्न वस्तु,होटेल, डेरी,किराना पसलका एक सय साठी वटा नमुना परीक्षण गरेको थियो ।

यसैबीच, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले स्तरीकरण कार्यक्रमको उद्घाटन गर्दै पछिल्लो समयमा अखाद्य वस्तु उपयोगका कारण क्यान्सर जस्ता रोगहरु बढ्दो क्रममा रहेकाले कार्यालयले दैनिकरुपमा अनुगमन, खाद्य वस्तुको ल्याब टेस्टमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपभोक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा,उपभोक्ता हित तथा संरक्षण शाखा रेखा शर्मा लगायतको उपस्थिती रहेको थियो । कार्यालयले जिल्लाको तुलसीपुर, घोराही र लमही, भालुवाङ क्षेत्रमा हरेक वर्ष होटेलहरुको स्तरीकरण गर्ने काम गर्दै आएको छ ।

यता, घोराही उपमहानगरपालिकामा पनि बजार अनुुगमन जारी राखिएको छ । घोराही १५ मा गरिएको अनुगमनमा उपनगरपालिकामा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, दर्ता गरेका केहीले नविकरण नगरेको, घरधनीले बुुझाउनपर्ने बहाल कर नतिरेको पाइएको घोराही उपमहानगरपालिका राजश्व शाखाका संयोजक कुमार खड्काले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्