२०८१ जेष्ठ ३१ गते बिहिवार

घोराही देशकै पहिलो बालमैत्री पालिका घोषणा




२३ चैत्र,घोराही –
घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रुपमा घोषणा गर्नुभएको हो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का सबै सूचक, मापदण्ड, प्रकृया पूरा गरेकाले आजबाट घोराहीलाई बालमैत्री पालिका घोषणा गरिएको प्रष्ट पार्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री केसीले संघीय संरचनापछि निर्माण भएको स्थनीय सरकारमा प्रदेशमै गर्व गर्न लायक उपलब्धी हासिल गरेको बताउनुुभएको छ । संघीय संरचनापछि देशकै पहिलो बालमैत्री पालिका घोषणा गर्दै मुख्यमन्त्री केसीले प्रदेशले गौरव गर्न लायक संस्थागत रुपमा जनप्रतिनिबाट काम भएको भन्दै प्रसंशा व्यक्त गर्नुभयो । पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुुभयो ।

यस्तै, उहाँले घोराही उपमहानगरपालिका स्थानीय सरकारले गरेका काममा प्रदेशमै राम्रो काम गर्नेमा चर्चा कमाएको भन्दै जल संरक्षण सफलताको आधार भएको बेला देशकै ठूला भूलोग भएको उमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरेर आफुलाई अब्बल सावित गरेको बताउनुुभयो । सो अवसरमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पालिकालाई बालमैत्री घोषणा गर्न लामो समयसम्म प्रकृयागत रुपमा सबै वडाहरुमा काम गरेर अघि बढेपछि सफलता मिलेको बताउनुुभयो । देशकै पहिलो बालमैत्री उपमहानगर बनाउँदै बालबालिकाको हक अधिकार स्थापित गर्दै सभ्य, स्वस्थ र मर्यादित उपमहानगर बनाएको बताउनुभयो । घोषणा समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बालमैत्री पालिका घोषणा गर्नुअघि विभिन्न विद्यालयका विद्यार्थीहरु, टोल विकास संस्थाका प्रतिनिधि, सरोकार निकायका प्रतिनिधिहरुको बृहत् र्याली निकालिएको थियो । बालमैत्री पालिका घोषणा समारोहमा बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा बालमैत्री पालिका घोषणा गर्न सहयोग गर्नुभएका तथा सक्रिय भूमिका खेल्नुुभएका संघसंस्था, संचारमाध्यमलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्