२४ चैत,घोराही । देशको प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा र लुम्बिनीमा पनि वायु प्रदूषणको उच्च प्रभाव देखिन थालेको छ । तुँवालोले ढाक्दा मंगलबार पोखराको हवाइ उडान पुनः प्रभावित भएको छ । वायु प्रदूषणले भिजिविलिटी नहुँदा झन्डै एकसाता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भएको थियो ।
सोमबारदेखि प्रदूषण बढेपछि पुनः हवाई उडान प्रभावित भएको हो । तुँवालोका कारण ५ किलोमिटरसम्म भिजिविलिटी नपुग्दा उडान प्रभावित भएको हो । सोमबार पोखराका लागि झण्डै तीन दर्जन उडान तालिका बनेपनि आकाशमा तुँवालो वढेर भिजिविलिटी नहुँदा दिउँसो मात्र काठमाडौंमा २ वटा र जोमसोमका लागि ७ वटा उडान भएको छ । आज मौसममा सुधार आउने सम्भावना कम देखिएको विमानस्थलका एक अधिकारीले बताए ।
त्यस्तै लुम्बिनीमा पनि प्रदूषण बढेको छ । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा पनि वायु प्रदूषण मात्र बढेको हो । भैरहवा(लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो ।