२०८१ असार ३ गते आइतवार

दाङ अझै हात्तीपाईलेको उच्च जोखिममा, फागुन २८ गतेबाट आमऔषधी सेवन अभियान शुरु



२२ फागुन,घोराही- दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाईले रोगको उच्च जोखिममा रहेको छ । सरकारले हात्तीपाईले रोगको जोखिममा रहेका जिल्लाको पहिचान गरी आगामी २८ गतेदेखि आम औषधी सेवन अभियान शुुरु गर्ने भएको छ । आईतबार स्वास्थ्य कार्यालय दाङले जिल्लामा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गर्दै विगत ११ वर्षदेखि हात्ती पाईले रोग विरुद्धको आम औषधी सेवन अभियान संचालन हुँदै आएकोमा दाङसहित बाँके र कपिलबस्तु अझै पनि जोखिममा परेकाले बाह्रौँ पटक आम औषधी सेवन अभियान संचालन गर्नु परेको जनाएको छ । कार्यालयका प्रमुुख अंगदबहादुर शाहीले नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनाति देखिएको बताए ।

यसपटकबाट मानिसको उचाई अनुुसार औषधी सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन हुने उहाँको भनाई छ । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुुपरे पनि यो पटकबाट आईभर मेक्टिन नामक औषधी थप गरिएको उनले बताए ।
सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आम औषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको उनको भनाई थियो ।जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ ।

यसपटक पनि जिल्लाको सिसहनियामा ३१४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा ३३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाईले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तिमा २ प्रतिशतभन्दा कम गर्नुु पर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्