२०८१ मङ्सिर २४ गते सोमवार

माओवादीमा वर्षमान र जनार्दनबाहेकलाई महासचिव बनाउने ‘गृहकार्य’




२२ पुस, काठमाडौं-  नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी चयन नै नगरी आठौं राष्ट्रिय महाधिवेशन टुंग्यायो। आठ दिन चलेर गत आइतबार सम्पन्न भएको महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरु वर्षमान पुन र ओनसरी घर्ती चीनबाट फर्केपछि मात्र पदाधिकारी चयन हुने बताए।

माओवादीमा पदाधिकारी चयन कठिन बन्नुको प्रमुख कारण महासचिव पद थियो। र, त्यो पदका एक प्रमुख दाबेदार पुन पनि थिए। माओवादीभित्र प्रभावशाली नेता मानिने पुन र घर्ती उपचारको क्रममा चीनमै रहेकाले उनीहरु फर्किएपछि मात्र पदाधिकारी तय गरिने प्रस्टीकरण प्रचण्डले दिएका थिए।

पुन मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी यही साता फर्कने तयारीमा छन्। माओवादीले आउँदो आइतबार केन्द्रीय समितिको अर्को बैठक बोलाएको छ। त्यही बैठकबाट माओवादीका पदाधिकारी चयन गरिने आकलन गरिएको छ।

माओवादीले आफ्नो विधानमा १५ जना पदाधिकारी रहने व्यवस्था गरेको छ। तीमध्ये अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भइसकेका छन्। नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने निश्चितजस्तै छ। माओवादी नेताहरुका भनाइमा श्रेष्ठकै लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको हो।

माओवादीका पदाधिकारीमध्ये सबभन्दा धेरै चासो रहेको पद महासचिव हो। भूमिकाका हिसाबले यो अध्यक्षपछिको शक्तिशाली पद हो। त्यसमाथि अब हुने महासचिव नै भावी पार्टी नेतृत्वमा पुग्ने भएकाले प्रभावशाली नेताहरुले यो पदमा दाबी गरेका छन्।

महासचिवमा वर्षमान पुनदेखि जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल प्रतिस्पर्धामा देखिएका छन्। प्रतिस्पर्धा चर्को देखिए पनि प्रभावका हिसाबले पुन र शर्मा नै महासचिवका प्रमुख दाबेदार छन्।

तर, पुन र शर्माबीचको टक्कर यति चर्को देखिएको छ कि उनीहरुमध्ये एकलाई महासचिव बनाउँदा अर्कोलाई व्यवस्थापन गर्न सहज नहुने निचोडमा अध्यक्ष प्रचण्ड पुगेको उनीनिकट नेताहरु बताउँछन्। त्यो अवस्थामा प्रचण्डले अर्को विकल्प रोज्नसक्ने उनीनिकट नेताहरुको भनाइ छ।

‘महासचिव पदका लागि आधा दर्जन नेताहरुले आकांक्षा राख्नुभएको छ। त्यसमध्ये पुन र शर्मा नै जब्बर दाबेदार हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यदि पुन र शर्मा नै एकापसमा भिड्न थाल्ने हो भने अध्यक्ष कमरेड दोस्रो विकल्पमा जाने देखिन्छ। त्यसो हुँदा गुरुङ, बस्नेत, भुसाल वा कृष्णबहादुर महरासमेत विकल्पमा आउन सक्नुहुन्छ।’

नेता गुरुङले पार्टी महासचिवका लागि आफूलाई पनि प्रस्ताव आएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। उनले त्यो प्रस्तावको विस्तृत नखुलाए पनि प्रचण्डले उनलाई नै महासचिवमा विकल्पका रुपमा अघि सार्न खोजेको देखिन्छ। ‘अहिले नेता वर्षमान पुन र जनार्दन शर्माले महासचिवका लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। दुई जनाबीच सहमति जुट्न नसकेको अवस्थाका लागि मेरो नाम महासचिवमा प्रस्ताव आएको छ,’ गुरुङले भनेका छन्, ‘हालसम्म पार्टीका कुनै पदमा दाबी गरेको छैन। सहमतिमा महासचिव बन्ने प्रस्ताव आए अस्वीकार गर्दिनँ। तोकिएको जिम्मेवारी पूरा गर्न तयार छु।’ गुरुङको अभिव्यक्तिले समेत प्रचण्डले महासचिवमा पुन र शर्माको विकल्प तयार गर्न थालेको संकेत गरेको छ।

दोस्रो विकल्प पुन र शर्मा उपमहासचिव
प्रचण्डले महासचिव पदमा दोस्रो विकल्प रोजेमा त्यसका प्रखर दाबेदार पुन र शर्मालाई उपमहासचिवमा व्यवस्थापन गर्ने सम्भावना छ। जानकारहरुका अनुसार पुन र शर्मामध्ये एकलाई महासचिव बनाउँदा आफैंमाथि ‘थ्रेट’ हुने महसुस प्रचण्डले गर्न थालेका छन्। अझै एक दशकजस्तो पार्टी नेतृत्वमा रहन चाहेका प्रचण्ड उनीहरुलाई उपमहासचिवमै थन्क्याएर आफू अनुकूल महासचिव बनाउन चाहन्छन्। दुवैलाई उपमहासचिव बनाउँदा पुन र शर्माको पदीय व्यवस्थापन पनि सहज हुने उनको आकलन छ।

यो निर्णय लिनुअघि भने प्रचण्डले सबैको राय बुझ्ने काम गरिरहेका छन्। पुन चीनबाट फर्केपछि उनकोसमेत मनस्थिति बुझेर पदाधिकारीमा सर्वसम्मत निर्णय लिन सकिने अपेक्षा उनले निकटस्थहरुलाई सुनाएका छन्।

यदि महासचिवको टुंगो सर्वसम्मत रुपमा लाग्न नसकेमा पदाधिकारीमा निर्वाचनसमेत हुनसक्ने अर्का एक केन्द्रीय सदस्यले बताए। त्यस्तो अवस्थामा महासचिवमा पुन र शर्माबीच नै प्रतिस्पर्धा हुन सक्छ। त्यसले पार्टीभित्र मनमुटाव बढ्ने सम्भावना भएकाले चुनाव हुन नदिने विकल्पमै प्रचण्डले गृहकार्य गरिरहेको ती नेताले बताए। नेपाललाईभबाट

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्