२२ पुस, घोराही – विवाहवारी २० वर्ष पारी भनी नेपालको संविधानमा उल्लेख गरिए पनि सल्यानमा २० वर्ष नपुग्दै विवाह गर्नेको संख्या उच्च रहेको छ । कम उमेरमा विवाह गरी किशोरी अवस्थामै गर्भवती हुनेहरूको संख्यामा कमी आउन सकेको छैन ।
स्वास्थ्यसम्बन्धी ज्ञानको कमी, देखासिकी, गरिबी, कानुनी ज्ञानको कमीलगायतका कारण बालविवाहमा कमी आउन नसकेको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानको गत आर्थिक वर्षको तथ्यांक अनुसार ६ हजार ११ मध्ये २० वर्ष मुनिका १ हजार ५ सय ९९ किशोरी सुत्केरी भएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सल्यान जिल्ला अस्पतालमा ५ सय ६० महिला सुत्केरी भएकोमा २० वर्ष मुनीका ९३ जना किशोरी सुत्केरी भएका छन् । सल्यान जिल्ला अस्पतालमा कार्यरत कोपिला रानाका अनुसार जिल्ला अस्पतालमा सुत्केरी हुन आउनेमध्ये धेरै २० बर्ष मुनि हुने गरेको बताउनुभएको छ ।।