२२ पुस, घोराही –
दाङको तुलसीपुर क्षेत्रमा पछिल्लो चार दिनयता कोरोनाको संख्या क्रमिक रुपमा उकालो लागेको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुर क्षेत्रमा चारदिनको अवधीमा ३८ जनामा कोरोना संक्रमण पुष्टि थपिएका छन् ।
यसअघि कोरोना संक्रमितको संख्या शुन्य जस्तैमा झरेको भएपनि पछिल्लो चार दिन यता क्रमिक रुपमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या वृद्धि हुदै गएको छ । हिजो २८ जनामा गरीएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्येबाट ४ जना स्वास्थ्यकर्मी, ३ जना विद्यार्थी, एकजना भारतबाट आएको र अन्य सर्वसाधरण गरी १३ जनामा संक्रमण देखिएको छ । यसअघि सोमबार गरिएको आरटी एन्टीजेन्ट विधिबाट परिक्षण गर्दा आश्वरा माविका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै अहिलेसम्म जिल्लाका ८६ प्रतिशत नागरिकले कोरोना भाईरसको पहिलो र ५७ प्रतिशत नागरिकले पुर्ण खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यस्तै अहिले जिल्लाका तुलसीपुर, घोराही र लमही बाहेका ७ पालिकामा कोरोनाका संक्रमित छैैनन् । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले दिएको जानकारी अनुसार जिल्लामा ७ स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य छ ।
तुलसीपुरमा थपिएका ३८ जना बाहेक पिसिआर विधीबाट परिक्षण गर्दा कोरोना देखिएका सक्रिय विरामी जिल्लामा ५ जना मात्रै रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म जिल्लामा पिसिआर विधिबाट मात्रै १२ हजार ९३३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्याको १२ हजार ६५७ रहेको छ भने तीन सय बढीको मृत्यु भएको छ ।।