२२ पुस, दाङ । दाङ, भक्तपुर, सर्लाही, चितवन, पर्सा, उदयपुर र कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित सडकमा लु २ ख ६७८ नम्बरको ट्रकले बा ८२ प ९७३७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सूर्यबिनायक नगरपालिका–४ दधिकोटका ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, सर्लाहीको बलरा नगरपालिका–४ बलरास्थित सडकमा बिआर ३० एल ८०४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका–२ का ७० वर्षीया राम एकबाल राय यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल मेडिकल अस्पताल बलरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
त्यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१० सौडीकुलास्थित सडकमा रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँका ६५ वर्षीय टोपेन्द्र कुमार पोख्रेलको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलास्थित सडकमा बा ६५ प १६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखाको भिमसेन गाउँपालिका–१ का ४५ वर्षीय फडिन्द्र बगालेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चितवनको कालिका नगरपालिका–२ का ५० वर्षीय चेतबहादुर बगालेको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, पर्साको जगरनाथ गाउँपालिका–५ सिकटापुलस्थित सडकमा प्रदेश २–०३–००९ प १८४५ नम्बरको मोटरसाइकल सडकबाट करिब १५ फिट तल खसेर मंगलबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सागढी नगरपालिका–५ बस्ने ३२ वर्षीय झोटी लाल यादवको मृत्यु भएको छ। दुर्घटमा गम्भीर घाइते भएका उनको उपचारको लागि बीरगंज हेल्थ केयर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
त्यसैगरी, उदयपुरको रौतामाई गाउँपालिका–१ तालथुकीस्थित सडकमा प्रदेश २–०२–०१–००१ त १०१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक त्रियुगा नगरपालिका–७ कालिखोलाका २० वर्षीय केशव विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य ४ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ।
यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सडकमा बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल र ल ५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा लु ५ प ८१९५ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका–९ भगवानपुरका २५ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय संजिबनी अस्पताल चन्द्रौटा हुँदै बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिक–९५ समितिचोकका २२ वर्षीय बिक्रम गौतमको बुटवलमा उपचार भईरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।