२०८१ मङ्सिर २५ गते मङ्गलवार

गणेश मृत्यु प्रकरणः घटनालाई दबाउन खोजिएको भन्दै घोराहीमा प्रदर्शन



१९ मंसिर,घोराही – घोराही १७ गुलरीयाका २२ बर्षिय गणेश पौडेलको हत्या भएको र घटनालाइ दबाउन खोजिएको भन्दै आज घोराहीमा विद्यार्थीले प्रदर्शन गरेका छन । दाङ भ्याली कलेजका विद्यार्थी र पीडीतका आफन्तले आज घोराहीमा प्रदर्शन गरेका हुन ।

जन्मदिन मनाउन घोराहीको फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा गएका घोराही १७ गुलरीयाका २२ बर्षिय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो ।

उनको मृत्यु शंकास्पद भएको भन्दै उनीहरूले ‘हत्यारालाई कारबाही गर, घटनाको निष्पक्ष छानविन गर, घुस खान पाइँदैन’ लगायतका नारा लगाउँदै घोराहीमा प्रदर्शन गरेका थिए ।

पौडेल साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन घोराही १५ परिवार नियोजन संघ देखी डिके पेट्रोल पम्प जाने बाटोमा रहेको फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा गएका थिए ।

प्रहरीले होटल सञ्चालक लंक बुढाथोकी सहित जन्मदिन मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

पौडेलको टाउकोमा गहिरो चोट भएका कारण मृत्यु शंकास्पद लागेको र पौडेलका घर परिवारले घटनापछि उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका युवाहरुले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्