१९ साउन,घोराही — बारबर्दिया नगरपालिका ४ कुसुम्बाघाटस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ । एक जनालाई भने उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सोमबार बेलुका तीन जना नदीमा नुहाउन गएका थिए थिए । दुई जना बेपत्तामध्ये बागलुङको बुर्तिबाङका ३४ वर्षीय हुकुम विकलाई मृत अवस्थामा फेला पारेको उनले जनाए । बारबर्दिया—४ घोरपिट्टाका ३४ वर्षीय लेखनाथ पौडेल बेपत्ताको खोजी गर्दा मंगलबार पानीमुनि रुखको जरामा अड्किएको अवस्थामा शव फेला परेको छ ।
मधुवन नगरपालिका—८ का ३५ वर्षीय विष्णु खरेललाई भने सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए । उक्त स्थानमा सशस्त्र प्रहरी बल कतरनियाका सप्रनि सर्वजित थापाको कमान्डमा ५ जना र गुलरियास्थित मुख्यालयका ससप्रनि पूर्णमान रामजालीको कमान्डमा नौ जना गोताखोर परिचालन गरिएको थियो ।।