२० भदौ, घोराही –
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।
पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको छ ।
प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपानेलाई चयन गरिएको छ । यसैगरी गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वालालाई चयन गरिएको छ । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।
यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई दिईएको छ ।
साथै पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।।