२० भदौ, सल्यान –
जिल्ला अस्पताल सल्यानमा जडान गरिएका भेन्टिलेटर र आइसीयुका सामान प्रयोगविहीन भएका छन् । गत वर्ष जेठ महिनामा कर्णाली प्रदेश सरकारको सहयोगमा जडान गरिएको भेन्टिलेटर र आइसीयु सञ्चालनमा नआउँदा प्रयोगविहीन भएका हुन् ।
जिल्लामा सामान जडान गरेको लामो समय हुँदा पनि विशेषज्ञ चिकित्सकको अभावमा प्रयोगविहीन भएको अस्पतालले जनाएको छ । अस्पतालमा प्राप्त सामान सञ्चालन गर्ने तालिमप्राप्त जनशक्ति अभावमा भेन्टिलेटर सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारले गतवर्ष दुई करोड ५८ लाख बजेटबाट भेन्टिलेटर जडान गरिएको थियो । अस्पतालमा छ थान भेन्टिलेटर र १४ बेडको आइसीयु जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
आइसीयु र भेन्टिलेटर सञ्चालनका लागि दुईजना मेडिकल अफिसर र दुई नर्सलाई एक हप्ताको तालिम दिए पनि पर्याप्त नभएको र उपकरण पनि पर्याप्त नभएको उहाँले बताउनुभयो । जनशक्तिसँगै भवन नहुँदा पनि भेन्टिलेटर र आइसीयु सञ्चालन गर्न समस्या भएको उहाँको भनाइ छ ।।